म हुँदा खबरदारी गर्ने मिडिया यो सरकारले संविधान मिच्दा पनि चुप छ : ओली

काठमाडौं, १२, असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आज (मंगलबार) सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाए ।
‘मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ,’ उनले भने, ‘हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो ।’ उनले आफू प्रधानमन्त्री हुँदा खबरदारी गरेकोप्रति धन्यवाद दिँदै अहिलेको सरकारलाई मिडियाबाट खबरदारी नपुगेको बताएका हुन् । ‘पहिले म प्रधानमन्त्री हुँदा खबरदारी गरेकोमा धन्यवाद, अहिले खबरदारी पुगेन जस्तो छ,’ उनले भने । गत साता सरकारले पदक बाँड्दा समेत ओलीले मिडियाप्रति आक्रोश पोखेका थिए ।
उनले लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको पनि बताए । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । ‘प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो ?,’ उनको प्रश्न थियो । विगतमा आफ्नो सरकारको खरो विरोध गर्ने मिडियालाई छानी छानी पदक दिएको उनको टिप्पणी थियो ।