देशका धेरै स्थानमा वर्षाको सम्भावना, यो वर्ष मनसुन ढिला गरी बाहिरिने


१३ आश्विन २०७८, बुधबार
kathamandu

काठमाडौं, १३ असोज । आज (बुधबार) मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ ।

बुधबार बिहान काठमाडौं उपत्यकामा पारिलो घाम लाग्न सकेको छैन । बिहान मुलुकका केही स्थानमा वर्षा भएको छ । आज दिउँसो धेरै स्थान र राति थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यस वर्ष नेपालबाट मनसुन ढिलो गरी बाहिरिने
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिलो गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनु पर्छ । तर, अहिलेसम्म त्यो अवस्थाको सिर्जना नभएकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

तुरुन्तै मनसुन नबाहिरिए पनि अब भारी वर्षाको सम्भावना भने नरहेको उनको भनाई छ । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने अनुमान मौसमविद्ले गरेका छन् ।

‘गुलाब’ नामक शक्तिशाली चक्रवात हिजोदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७