बेलायतमा ट्रक चालकको अभावले निम्त्याएको ‘इन्धन अभाव’


१३ आश्विन २०७८, बुधबार
londong

काठमाडौं, १३ असोज । अहिले बेलायतभर पेट्रोल स्टेसन अगाडि अत्यन्तै लामो लाइन देख्न सकिन्छ । सरकार र तेल कम्पनीहरुले कतै कुनै अभाव नभएको सुनिश्चित गराइरहे पनि मानिसहरु हतासिँदै पेट्रोल स्टेसनतर्फ दौडिरहेका छन् । घण्टौं लाइनमा बसिरहेका कतिपय त गाडीमै सुत्न थालेका छन् । त्यस्तै उच्च माग पूरा गर्न नसक्दा पेट्रोल स्टेसनहरु बन्द गराउनु परेको छ ।

वास्तवमा गत हप्ता बीपी तेल फर्मले लरी ट्रक चालक नभएकाले अस्थायी रुपमा केही पेट्रोल स्टेसनहरु बन्द गर्नुपर्ने जानकारी दिएको थियो । अन्य तेल कम्पनीहरु पनि यस्तै समस्याबाट गुज्रिरहेका छन् । र यही खबरले अचानक सबैतिर पेट्रोल अभावको त्रास फैलाएको बताइन्छ ।

बेलायत युरोपेली युनिअनबाट बाहिरिएसँगै अधिकांश युरोपेली चालकहरु आ–आफ्नो देश फर्किए र कतिपय चाहिँ आम्दानी प्रभावित हुने डरले पनि अन्तै काम गर्न थाले । त्यस्तै कोभिड महामारीमा अझ धेरै चलकहरु घर फर्किएका हुन् । यता पुराना चालक रिटायर भइरहँदा महामारीका कारण तिनलाई प्रतिस्थापन गर्न कठिनाइ भएर यो काम पनि रोकिएको छ । त्यसैले यतिबेला बेलायतमा १ लाख बढी ट्रक चालकको अभाव छ ।

यसरी अरु बेलामा २० देखि ३० हजार लिटर इन्धन विक्री गर्ने गरेका कोलिन ओवेन्सले पछिल्लो २४ घण्टामा १ लाख लिटर बचेको बताए । भीड अनि लामो लाइनकै कारण कतिपय ठाउँमा झैझगडा मच्चिएको खबर पनि आइरहेका छन् । त्यसैले सोमबार सरकारले पेट्रोल स्टेसनहरुमा तनाव कम गर्न भनेर सेना तैनाथ गर्ने निर्णय सुनाएको हो ।

शेल , एक्सन मोबिनल र ग्रिन एनर्जी सहित प्रमुख तेल कम्पनीहरुले पेट्रोलको कुनै अभाव नभएकामा जोड दिइरहेका छन् । र अहिलेको अभाव वास्तवमा उच्च माग र आपूर्तिको दबाबका कारण मात्र भइरहेको तिनको भनाइ छ । यहाँसम्मकी नेताहरुले व्यक्तिगत रुपमै कुनै अभाव नभएको बताइरहेका छन् ।

अहिलेको स्थितिमा सुधार ल्याउन सबैले सामान्य अवस्था जस्तैगरि पेट्रोल खरिद गर्न महत्वपूर्ण रहेको वातावरण मन्त्री जर्ज युसटिसले बताएका हुन् । अभावका बारेमा मिडियाले जथाभावी भ्रामक खबरहरु फैलाएका कारण नै सर्वसाधारणले यस किसिमले प्रतिक्रिया जनाइरहेको उनको आरोप छ । यसरी माग उच्च बिन्दुमा पुगेपछि अहिले भने कतिपय ठाउँमा वास्तवमै अभाव सिर्जना भएको बताइएको छ । मानिसहरुले अनावश्यक रुपमा नचाहिएपनि पेट्रोल खरिद गर्न जानुले समस्या झन गम्भीर बन्न पुगेको मन्त्री जर्ज बताउँछन् ।

ट्रक चालक नहुँदा पछिल्लो समय सुपरमार्केटहरुमा खाद्य सामग्री आपूर्ति गर्न समेत समस्या भइरहेको बताइएको छ । यसले स्टोरहरु रित्तिने जोखिम बढाएको छ । सवारी चालक कम हुँदा पर्याप्त सामान ओसार पासर गर्न कठिन बन्दा विशेषगरी छिटै बिग्रन सक्ने खाद्य वस्तु प्रभावित भइरहेका छन् ।

यता सरकारले चालक अभावको समस्या समाधान गर्नकै लागि विदेशी फ्युल ट्यांकर र खाद्य सामग्री बोक्ने लरीका ५ हजार चालकलाई अस्थाइ भिसा दिने घोषणा गरिसकेको छ । त्यस्तै सरसामान बोक्ने भारी सवारीको लाइसेन्स भएकाहरुलाई काममा फेरि फर्कन भन्दै दश लाख चिठी पनि पठाइएको छ । यता चार हजार बढी अतिरिक्त चालकलाई लाइसेन्स दिलाउन प्रशिक्षण दिने तयारी समेत गरिरहेको छ । इन्धनको अभाव र माग चाहिँ अबका केही दिनमै सामान्य अवस्थामा फर्किने इन्धन उद्यमीहरुले जनाएका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७