जुम्लामा चट्याङमा परेर ४० भेडा मरे


१३ आश्विन २०७८, बुधबार
veda death2021 09 28 06 19 34
फाइल फोटो

जुम्ला, १३ असोज । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करिब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन् ।

गोठीचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वनअन्तर्गतको चिमारा लेकनजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका स्थानीय नानो भण्डारीका १० भेडा मरेका २ घाइते, यस्तै मुनबहदुर भण्डारीका ४ मरेका २ घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेका ७ घाइते र देवीप्रसाद अधिकारीको ९ मरेका ४ घाइते भएको इलाका प्रहरी कार्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए । अनका अनुसार चट्याङ लागेर भेडाबाख्रा परेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको छ ।

भेडाखर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुर्खौली पेसालाई नै ध्वस्त भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए । यो क्षेत्रको अधिकांश स्यानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो । गिरीले भने, भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा गर्न सकिने छ ।

भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल परेको छ । ठूलो मात्रामा क्षति भएपछि स्थानीयले राहतको माग गरेका छन् । जुम्लामा गएको ०७० सालमा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७