मासु भन्दा महँगो हरियो सागपात, एक मुठा रायोकै ७० रुपैयाँसम्म


१३ आश्विन २०७८, बुधबार
tarkari scaled

काठमाडौं, १३ असोज । बजारमा तरकारी किनेर खान उपत्यकावासीलाई हम्मे पर्न थालेको छ । तरकारीको मूल्य थोक बजारमा नै महंगो हुँदा उपभोक्ताले खुद्रा पसलबाट किनेर खानै नसकिने अवस्था आएको छ ।

दिन प्रतिदिन व्यापारीले नियमित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृद्धि गर्दा उपभोक्ता मारमा परेका छन् । सामान्य हरियो सागपात किनेर खानभन्दा मासु किनेर खान सस्तो पर्ने अवस्था आएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेको व्यापारी बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो १५० रुपैयाँ तोकिएको हरियो साग व्यापारीले भने प्रतिकिलो २५० रुपैयाँसम्म तिर्न बाध्य पारेको उपत्यकावासी बताउँछन् । उपभोक्ता, अर्थशास्त्री एवं पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले सामाजिक संजालमा लेखेका छन्, ‘१५० रुपैयाँ तिरेर दुई मुठा साग, ल आयो है दशैं ।’ बजार अनुगमनमा कमी भएकाले व्यापारीले चरम लापरवाही गर्न थालेको उपभोक्ताको गुनासो छ ।

वाणिज्यको क्षेत्र धेरै भएकाले व्यापारीले आँखा छल्दा नियन्त्रण गर्न सम्भव नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं बताउँछन् । उनी भन्छन्, ‘कसैले कानुन विपरीत बढी मूल्य लिएर ठग्ने प्रयास गरेमा कानुन बमोजिम कारवाही अघि बढाउछौँ । हामीले हेर्न त हेरिरहेका छौँ । हामीले गर्ने काममा कुनै कमी ल्याएका छैनौं । तर, तरकारीको मूल्य बढ्नुमा विचौलियाको पनि हात धेरै हुन्छ ।’ उनले यस विषयमा कृषि मन्त्रालयलाई पनि ध्यानाकर्षण गराए ।

कृषि विभाग भने बजारको अवस्था निगरानी तथा मूल्यांकन गर्ने जिम्मेवारी वाणिज्य विभागकै भएको बताउँछन् । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले विभागले बजार हेरेर कृषिलाई जानकारी गराएपछिमात्रै अनुगमन गर्ने तर सुरुवाती जिम्मेवारी वाणिज्यकै भएको बताए ।

उपत्यकामा निरन्तर वर्षाले उत्पादन भएका वस्तुहरु आपूर्ति हुन असहज भएकाले अस्वभाविक मूल्य वृद्धि भएको उनको भनाइ छ । ’व्यापारीले आफ्नो घाटालाई जोडेर मार्जिन राख्दा उपभोक्ताले तोकिएभन्दा बढी तिर्न परेको छ । विचौलियाका कारण पनि मूल्यमा प्रभाव पार्छ,’ उनले भने ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आज पालुंगो प्रतिकिलो दुई सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तोरीको साग भने प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ । कालिमाटीमै महंगो भएको तरकारी उपभोक्तासम्म आइपुग्दा झण्डै दोब्बरले वृद्धि हुन्छ ।

आज साताको तेस्रो दिन मंगलबार कुरीलोको भाउमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरका री बजार विकास समितिको तथ्यांकअनुसार एकै दिनमा कुरीलोको मूल्य एक सय रुपैयाँले बढेको छ । हिजो प्रतिकिलो ८०० रुपैयाँमा कारोबार भएकमा आज एक सय रुपैयाँले मूल्य वृद्धि हुँदा प्रतिकिलो ९०० रुपैयाँ कायम भएको बजार विकास समितिले जनाएको छ ।

त्यस्तै, आज काउलीको मूल्य भने १० रुपैयाँले घटेको छ । तथ्यांकअनुसार हिजो सोमबार प्रतिकिलो अधिकतम एक सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर अधिकतम प्रतिकिलो ९० रुपैयाँ कायम भएको हो । आज सानो गोलभेँडाको मूल्य अधिकतम ४० रुपैयाँ र न्यूनतम ३३ रुपैयाँमा कारोबार भएको छ ।

आज मंगलबार कागतीको मूल्यमा भने धेरै नै वृद्धि भएको छ । हिजो सोमबार प्रतिकिलो १८० रुपैयाँमा कारोबार भएकोमा आज ७० रुपैयाँको वृद्धि भएर आज कागतीको मूल्य २२५ रुपैयाँ कायम भएको तरकारी बजार विकास समितिले जनाएको छ । अहिले कागतीको प्रयोग पनि धेरै बढ्दै गएकाले यसको उत्पादनमा कमी भएकाले पनि बजारमा यसको भाउ उकालो लागेको व्यवसायीको भनाइ छ । कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्दै आएको छ । भूमिका तिमल्सिना / न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७