अशक्तलाई घरमै नागरिकता, बैंक खातामै भत्ता पाउने बाटो खुल्यो


१३ आश्विन २०७८, बुधबार
citizenship for disable at sakela photo khotang

खोटाङ, १३ असोज । खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र पुर्‍याएको हो ।

मंगलबार साकेला गाउँपालिका–४ मात्तिमका २० वर्षीय खगिन दर्जी, साकेला गाउँपालिका–३ खिदिमा बोराटोलकी २५ वर्षीय कृष्णकुमारी खत्री र साकेला गाउँपालिका–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राईलाई नागरिकताको प्रमाणपत्र उपलव्ध गराइएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष अर्जुन खड्काले अपांगता भएका नागरिकलाई प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहवरमा नागरिकताको प्रमाणपत्र वितरण गरेका छन् । क्रमशः अन्य अशक्तलाई घरैमा नागरिकताको प्रमाणपत्र उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पुरा गरेर नागरिकता तयार भएपछि प्रशासनले आफ्नो प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नागरिकताको प्रमाणपत्र वितरणको व्यवस्था मिलाइएको हो ।

नागरिता पाएसँगै उनीहरुले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकता विहिन अशक्त र अपांग लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नागरिकता वितरणसँगै अशक्तको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताए । बुधबार साकेला गाउँपालिका–२ रतन्छाका वृद्ध नन्दलाल फुयाँल लगायतलाई प्रशासनको अनूसुचीमा सनाखत गराएर नागरिकता वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७