प्रधानमन्त्री देउवाले आज बोलाएको सर्वदलीय बैठकमा जालान् ओली ?


१४ आश्विन २०७८, बिहीबार
Oli Deuba 2BWi3BG8b7

काठमाडौं, १४ असोज । संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको बोलाएका छन् । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ ।

संसद्मा जारी अवरोध खुलाउने र त्यसका लागि दलहरूबीच छलफल भइरहेको राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री भएयता सर्वदलीय छलफल नभएकाले पहिलो पटक देउवाले बैठक बोलाएको देउवाको सचिवालयको भनाइ छ ।

‘कुनै ठोस एजेण्डा भएर होइन, प्रधानमन्त्री भएयता सबै दलसँग एकै पटक छलफल गर्न पाउनु भएको थिएन । त्यसैका लागि बैठक बोलाउनु भएको हो,’ देउवा सचिवालयले भन्यो, ‘अहिले संसद्मा जारी अवरोध खुलाउने विषयमा दलहरूबीच छलफल हुनेछ, त्यो नै बैठकको एजेण्डा हो ।’
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रमुख प्रतिपक्षी एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।
‘विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक राख्नु भएको छ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा रहेका गोविन्द परियारले भने, ‘सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्त्याइएको छ ।’

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने–नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरुले कारवाही गरेका माधवकुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।

नेकपा एमालेले माधव नेपालहरुमाथिको कारवाहीको सूचना सभामुखले नटाँसेसम्म संसद अवरुद्ध गर्ने बताउँदै आएको छ । शुक्रबारको बैठक पनि अवरुद्ध पार्ने एमालेको तयारीको छ । सत्तापक्षले भने एमालेले माग गरे वमोजिम राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको हुनाले संसदको अवरोध खोल्न प्रतिपक्षलाई आग्रह गर्ने तयारी गरेको छ । त्यसैका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक राखेको काँग्रेस नेताहरु बताउँछन् ।

तर, प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले नेताहरु सहभागी हुने, नहुने बुधबार रातिसम्म स्पष्ट भइसकेको छैन । ‘बैठकमा जानेबारे अध्यक्ष ज्यूबाट कुनै खबर आइसकेको छैन’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘खबर आउला, अध्यक्षबाट जस्तो निर्देशन आउँछ, एमाले सोहीअनुसार अगाडि बढ्छ ।’

बिहान बालुवाटारको सर्वदलीय बैठक सकिएपछि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद बैठक सकिएपछि अपरान्ह सत्ता गठबन्धन दलहरुले मन्त्रिमण्डल विस्तारका लागि बालुवाटारमा छलफल गर्ने कार्यसूची छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल भने उपस्थित नहुने स्रोतले बतायो । बिरामी भएका कारण नेता नेपाल बैठकमा आउने भएका हुन् । नेता नेपालको अनुपस्थितिले एमाले अध्यक्ष ओलीलाई बालुवाटार जान सहज हुने सत्तापक्षका नेताहरु बताउँछन् ।

भाइरल ज्वरोका कारण बिरामी परेका नेता नेपाल बुधबार साँझ शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य नै रहेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । प्रधानमन्त्रीले देउवाले आयोजना गरेको दलहरूको बैठकमा सभामुख अग्नि सापकोटा पनि नजाने भएका कारण ओलीले यो बैठकमा भाग लिने काँग्रेस नेताको अपेक्षा देखिन्छ ।

नयाँ सरकार गठन भएपछि २३ भदौबाट बसेको संसद्को प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यद्यपि, सरकारले अवरोधका बीच पनि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्बाट पारित गरेको छ । त्यस्तै, गत साउनमा ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा पेस भए पनि सरकारले मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिमार्फत खारेज गरिसकेको छ ।

तर, प्रमुख प्रतिपक्षी एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै संघीय संसद्का बैठकमा निरन्तर अवरोध पु¥याउँदै आएको छ । तर, एमालेले कारबाही गर्न माग गरेका १४ सांसदसहित अन्यले माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । संसद्मा एमालेले जारी राखेको अवरोध खुलाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक बोलाएका थिए । तर, बैठकमा प्रमुख प्रतिपक्षी एमाले नै उपस्थित भएको थिएन ।

यसैबीच अघिल्लो साता मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि संवाद र सहमतिबाट संसद्मा भइरहेको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका थिए । गत बिहीबार राष्ट्रिय सभाको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार र प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका थिए ।

तर, एमालेको अवरोधका बीच पनि राष्ट्रिय सभाको उक्त बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७