एमालेले जबजलाई परिमार्जन गर्दै


१४ आश्विन २०७८, बिहीबार
amale 2 1

काठमाडौं, १४ असोज । तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले समयानुकूल उन्नत बनाउने भएको छ । उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा यसलाई समेट्ने तयारी छ ।

पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन भोलि शुक्रबार सुुरु हुँदैछ । पार्टीको विचार, सिद्धान्त, संरचना, कार्यनीति एवं रणनीतिबारे देशभरका प्रतिनिधिले दुई दिनसम्म छलफल गरी निचोड निकाल्ने छन् ।

करिब तीन दशकअघि २०४९ मा भण्डारीले जबजको सिद्धान्त ल्याएका थिए । त्यसयता एमालेले त्यसैलाई मूलमन्त्र बनाएर राजनीतिक धरातल फराकिलो बनाउँदै आएको छ । अध्यक्ष ओली जबजलाई नै मूल सिद्धान्त बनाउन चाहन्छन् । तर, यसपालि सुदृढ गर्ने सोचमा छन् ।

‘जबज जड विषय होइन । यो गतिशील सिद्धान्त हो’, मंगलबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले यसबारे केही जानकारी चुहाए, ‘यो समयानुकूल परिमार्जित र विकसित हुँदै जान्छ । मानौं सय किलोमिटर लिक हुँदा कुनै रेल ल्याएको छ, लिक हजार किलोमिटर पुग्यो भने सय किलोमिटरमै मात्र गुड्छु भनेर हुँदैन । रेलले हजार किलोमिटरमै गुड्नु पर्छ ।’

एमालेले पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो । यो महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा असोज १५ देखि १७ गते हुनेछ । देशभरका ५ हजार ७ सय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टी विभाजनपछिको यो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । पार्टीको राजनीतिक, सांगठनिक र वैचारिक नीतिको टुंगो लगाउने भएकाले यो महाधिवेशनको महत्व रहेको एमाले नेताहरू बताउँछन् ।

राष्ट्रिय महाधिवेशन केवल नेतृत्व चयनमा केन्द्रित हुन थालेपछि एमालेले नवौं महाधिवेशनबाट विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । विधान महाधिवेशनमा पार्टीको विचार, नीति, नियम र विधानको विषयमा मात्र छलफल हुनेछ । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७