कोभिडका कारण गन्ध हराउने समस्याको नयाँ उपचार आउँदै


१४ आश्विन २०७८, बिहीबार
treatment for covids loss of smell1632970557

काठमाडौं, १४ असोज । भिटामिन ए युक्त नाकमा हाल्ने ड्रप्सले कोभिडका कारण गन्ध हराउने समस्या समाधान गर्न सक्ने अध्ययनमा देखिएको छ । यससम्बन्धी युनिभर्सिटी अफ इस्ट एन्जिलाले १२ हप्ताको ट्रायल सञ्चालन गरिरहेको छ ।

यसमा सहभागी कोभिडका बिरामीहरुले यो उपचार पाउने छन् । त्यसपछि उनीहरुलाई कुहिएको अण्डा र गुलाबको फूल जस्ता शक्तिशाली गन्ध छाड्ने वस्तुहरु सुँघ्न लगाइनेछ । अनि उनीहरुको मस्तिष्कको स्क्यान गरिनेछ । त्यस भिटमिनले सुँघ्ने क्षमतामा क्षति पुर्‍याएको ओल्फ्याक्टरी नर्भलाई ठीक गर्‍यो कि गरेन भनेर यसबाट पत्ता लगाइनेछ ।

गन्ध हराउनुलाई कोभिडको सबैभन्दा सामान्य लक्षण मानिन्छ । तर कतिपय अवस्थामा अन्य भाइरस जस्तै फ्लुले पनि यस्तो गराउन सक्छ । र प्रायः मानिसहरुले बिस्तारै केही हप्तामा आफै सुँघ्ने क्षमता पुनः प्राप्त गर्दछन् । तर कतिपयलाई चाहिँ लामो समयसम्म गन्ध थाहा नपाउने समस्या रहिरहने गरेको पनि पाइएको छ ।

जस्तै लण्डनकी २९ वर्षीया लिना अल्नादीलाई कोभिड भएपछि उनमा ‘पारोसिमा’ विकसित भयो यसको अर्थ उनका लागि धेरै साधारण कुराहरुको गन्ध पनि पूर्ण रुपमा फेरिएको छ । जस्तै उनलाई धाराको पानी एकदमै नराम्रो गनाउँछ । त्यस्तै धनियाँ चाहिँ उनलाई सेन्ट जस्तो बास्ना आउँछ । उनको सबैभन्दा मनपर्ने खानेकुरा अण्डा उनलाई जलेको रबर जस्तो गनाउने गरेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘हामीले सुँघ्ने क्षमतालाई कति सामान्य रुपमा लिइरहेका हुन्छौं । तर यो गुमाउनु पर्दाको पीडा अत्यन्तै भयानक छ । यसले विशेषगरी मेरो डायटलाई पूरै बदलिदिएको छ । आफूलाई मन पर्ने र सधैँ खाइरहने धेरै खानेकुरा मैले मुखमा हाल्नै सकिरहेको छैन । यो मेरा लागि अत्यन्तै समस्याजनक बनेको छ ।’

खानेकुरा मात्र नभएर दैनिकीका साधारण गतिविधि जस्तै नुहाउनु अनि दाँत माझ्नुलाई पनि यसले अत्यन्तै नराम्रो अनुभव बनाइदिन्छ । लिनाले चाहिँ केही उपायहरु लगाएर खाने कामलाई सहज बनाएकी छन् । जस्तै खानेकुरामा धेरै कागती अनि पीरो राख्दा खान सकिने उनले बताइन् । यो ट्रायल सफल भएमा लिना जस्ता धेरै कोभिड बिरामीका लागि ठूलो राहत हुनेछ भने अन्य साधारण बिरामीलाई पनि लाभदायक हुनेछ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७