कांग्रेस–माओवादी समर्थितबीच खुकुरी हानाहान, घाइते दुईको हेलिकप्टरबाट उद्धार

रुकुम, १४ असोज । रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते दुई जनालाई हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
आठबिसकोट नगरपालिका–३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जङ्ग शाहीले बताए ।
तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन् ।