एमाले वार्ता र संवादबाट भाग्न खोज्यो : सरकार

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएन ।
बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहदुर कार्कीले हाल संसदमा देखिएको गतिरोध अन्त्य जरुरी रहेको निष्कर्ष बैठकले निकालेको बताए । कार्कीले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिष्कार गरेको स्मरण गराए ।
उनले सर्वदलीय बैठकमा बोलाउँदा बोलाउँदै पनि एमालेले सहभागी नभएर वार्ता र संवादबाट भाग्न खोजेको बताए । ‘बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएन । एमालेको अनुपस्थितिले उहाँहरु संवाद र वार्ताबाट भाग्नु भएको ठहर हामीले गरेका छौं’, कार्कीले भने, ‘सभामुखले बोलाएको बैठकमा पनि एमाले अनुपस्थित भएको छ ।
यसले उहाँहरु संवाद र पर भाग्न खोजेको देखिन्छ । जुन कुरा अहिलेको आवश्यकता भन्दा भन्दा भिन्न छ ।’ यो बैठकमा अनुपस्थित भए पनि आगामी बैठकमा एमाले सहभागी हुने विश्वास कार्कीले व्यक्त गरे । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली यो बैठकमा अनुपस्थित भए पनि फेरि उहाँहरु आउनु हुनेछ भन्नु भएको छ’, कार्कीले भने,‘यो बैठकमा संघीय संसदलाई निर्वाध रुपमा अघि बढाउनेबारे छलफल भएको छ ।’