मुस्कान खातुनलाई एसिड हान्ने किशोर फेरि पक्राउ

पर्सा, १४ असोज । पर्साकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड हान्ने किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो । कोभिड–१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएको थियो ।
उनलाई पुन सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।
२०७६ भदौ २० गते बिहान वीरगञ्ज महानगरपालिका–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।