काठमाडौंमा मेला, महोत्सव र सभा–जुलुस नगर्न सरकारको आदेश

काठमाडौं, १४ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेशमार्फत महोत्सव, जात्रा, उत्सव, सभा जुलुस, जात्रा, भजन कीर्तन र भोज भतेर लगायतका कार्यक्रममा निषेध गरेका हुन् ।
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउने दुई साता बाँकी रहेको अवस्थामा प्रशासनले थोरै भन्दा थोरै र घरका मात्रै सदस्यहरुको सहभागितामा सामान्य रुपमा चाडपर्व मनाउन पनि भनेका छन् ।
हेर्नुस् सूचना

