ईपीएल क्रिकेट : चितवनले काठमाडौंलाई हरायो


१४ आश्विन २०७८, बिहीबार
epl chitwan

काठमाडौं, १४ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटअन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो । काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक २६ रन बनाउँदा कमल सिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलिप नाथले २३ रन जोड्दा करिम जनतले २१ रन बनाए । मोहमद साहजदले २१, भिम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी शून्य रनमा आउट भए ।

बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे ।

रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए । सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिँदा करिम जनतले दुई तथा कमलसिंह ऐरी र सेकुगे प्रसन्नले एक–एक विकेट लिए ।

काठमाडौंलाई पराजित गरेसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७