‘जनवादी कार्यक्रम’ भन्दै बादलले औंल्याए ‘जबज’ काे सान्दर्भिकता

काठमाडौं, १४ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि सान्दर्भिक रहेको बताएका छन् ।
बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन् । उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताए ।
महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता थापाले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए । उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेश हुने पनि जानकारी दिए ।
थापाले उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमहरू जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने धारणा राखे । उनले जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रस्तुत गरिने बताए ।
स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए । उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए ।