एमाले विधान महाधिवेशन : प्रतिनिधि आउने क्रम जारी, वितरण गरिएको झोलामा के छ ?

प्रतिनिधिलाई खाना, आवासदेखि गाडीसम्म व्यवस्था


१४ आश्विन २०७८, बिहीबार
UMl Bidhan Adhibesan

काठमाडौं, १४ असोज । भोलि (शुक्रबार) देखि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । भोलि (शुक्रबार) देखि तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आइरहेका हुन् । महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले अधिकांश प्रतिनिधि आइसकेको जानकारी दिए । ‘अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्’, उनले भने, ‘भोलि बिहानसम्म सबै प्रतिनिधि आइसक्ने छन् ।’

शुक्रबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १२ः१५ बजे महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यस्तै, प्रतिनिधिलाई उपलब्ध गराउने झोला आजैदेखि वितरण गर्न थालिएको उनले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालयमा नाम दर्ता गराएका प्रतिनिधिलाई आजैदेखि दस्तावेज वितरण पनि गरिएको छ ।

झोलामा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन रहेका छन् । यस्तै, झोलामा एमालेको मुखपत्र ’नवयुग’सहित कापी र कलम पनि रहेका छन् । प्रतिनिधिका लागि यस पटक आवासको व्यवस्था सम्बन्धित प्रदेश कमिटीले गरेको छ । प्रदेश कमिटीले सहभागी हुन आउने प्रतिनिधिलाई सुन्धारा, बागबजार, ललितपुरलगायत विभिन्न स्थानका होटेलमा बासको व्यवस्थापन गरेको छ ।

को-को छन् प्रतिनिधि ?
नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको जनाएको छ ।

समितिका संयोजक रामबहादुर थापा ‘बादल’का अनुसार विधान महाधिवेशनमा विभिन्न कमिटीबाट प्रतिनिधित्व रहेको छ । जसमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधिहरु सहभागी हुनेछन् ।

त्यसैगरी पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरु, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुखहरु, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु रहेका छन् ।

जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधिहरु, भारतलगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्यहरु पनि प्रतिनिधि छन् । १५–१७ असोजसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चल्ने विधान महाधिवेशनको उद्घाटन भोलि अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । प्रस्तावमाथि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।
नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ ।

बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ‘बादल’ द्वारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ ।
प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको छ । प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ ।

निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघ, अनेरास्ववियूलगायत २ सयको संख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ । विधि र नीतिसँग सम्बन्धित रहेर महाधिवेशन केन्द्रीत रहेको संयोजक थापाले बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतदेखि पार्टीको आगामी आन्दोलन कार्यभार र नेतृत्व निर्माणको विषय, विचारधाराको बहस हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७