कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणविरुद्ध उजुरी दर्ता गर्न सर्वाेच्च अदालतको आदेश


१५ आश्विन २०७८, शुक्रबार
kumar 9hthsbVGNv

काठमाडौं, १५ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ प्रकरणमा परिवारले दिएको उजुरी दर्ता गर्न सम्बन्धित निकायलाई सर्वाेच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी दर्ता गर्न सर्लाही जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको हो । विशेष ब्युरोबाट खटिएको प्रहरी टोलीले सर्लाही नै पुगेर हानेको गोलीबाट २०७५ असोज ५ गते कुमार पौडेल मारिएका थिए । प्रहरीले उनी मुठभेडमा मारिएको दाबी गरेको थियो ।

तर कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गैरकानुनी रूपमा हत्या गरिएको भन्दै सर्लाही जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । तर हुलाकमार्फत जाहेरीपत्र आएकाले विश्वसनीयता नदेखिएको भन्दै प्रहरीले दर्ता गर्न मानिरहेको थिएन ।

यसपछि दुर्गादेवीले सरकारी वकिलको कार्यालयमा समेत निवेदन दिइन् । उसले पनि जवाफ नदिएपछि दुर्गादेवी सर्वाेच्च अदालत गुहार्न पुगेकी हुन् । यसै सम्बन्धमा अदालतले जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो ।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान गर्दा पौडेललाई नियन्त्रणमा लिएर गोली हानिएको पाइएको थियो । यसर्थ आयोगले घटनामा संलग्न प्रहरी निरीक्षक कृष्णदेव शाह, हवल्दारद्वय विनोद शाह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरेर फौजदारी अभियोगमा मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७