निगुरो टिप्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

झापा, १५ असोज । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट बिहीबार मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दैगर्दा हात्तीले सुँढले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
घटनाको विषयमा सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ । रासस