अस्ट्राजेनेकाको खोप अमेरिकामा ७४ प्रतिशत प्रभावकारी


१५ आश्विन २०७८, शुक्रबार
Astra Zeneca 2YuHMkKGJ0

काठमाडौं, १५ असोज । कोभिड १९ को लक्षणसहितको रोगको रोकथाममा अस्ट्राजेनेकाको खोप ७४ प्रतिशत प्रभावकारी देखिएको छ ।
एक अमेरिकी अध्ययन अनुसार यो खोप ६५ वर्षभन्दा माथिका व्यक्तिमा भने ८३.५ प्रतिशत प्रभावकारी देखिएको छ ।

कम्पनीले बुधबार अमेरिकी क्लिनिकल ट्रायलको नतिजा सार्वजनिक गरेको हो । बेलायती औषधि निर्माता कम्पनीले प्रारम्भिक रुपमा खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको दाबी गरेको थियो । तर, अमेरिकामा २६ हजार बढी स्वयंसेवकहरुको संलग्नतामा गरिएको ट्रायलमा भने यो खोपको समग्र प्रभावकारिता ७४ प्रतिशत मात्रै देखिएको हो ।

खोपको अध्ययनमा संयुक्त राज्य अमेरिका, चिली र पेरूका २६ हजार बढी व्यक्तिको सहभागिता रहेको थियो। ट्रयलमा सहभागीहरुलाई एक महिनाको अन्तरालमा दुई डोज खोप लगाइएको थियो । यो ट्रायलको रिपोर्ट न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।
खोप लगाएका १७ हजार ६ सय सहभागिमा कोभिड–१९ को गम्भीर प्रकारको कुनै लक्षण देखिएन तर प्लेसाबो प्राप्त गरेका ८ हजार ५ सयमध्ये ८ जनामा गम्भीर लक्षण देखिएको थियो । खोप प्राप्त गरेका कसैको पनि मृत्यु नभए पनि प्लेसाबो पाएका समूहका दुई जनाको मृत्यु भएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अध्येता डा.अन्ना डर्बिनले खोपको प्रभावकारिताबाट आफू आश्चर्यमा परेको बताइन् । ‘खोपले गम्भीर रोग र अस्पताल भर्नाविरुद्ध धेरै सुरक्षा दिएको देखियो,’ उनले भनिन् । कम्पनीले हाल बुस्टर डोजका लागि अनुसन्धान गरिरहेको छ । बुस्टर डोज पहिले नै यो खोपको दुई डोज लगाएका वा फाइजरका साथै मोडर्नाको खोप लगाएकाहरुलाई समेत दिन मिल्ने गरी उत्पादन गर्न अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७