पत्रकार पूर्णिमा श्रेष्ठद्वारा धवलागिरी हिमालको सफल आरोहण, बनाइन् यस्तो रेकर्ड

काठमाडौं, १५ असोज । पत्रकार पूर्णिमा श्रेष्ठले संसारको सातौं अग्लो शिखर धवलागिरी हिमालको सफल आरोहण गरेकी छन् । श्रेष्ठले आज (शुक्रबार) बिहान म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने ८,१६७ मिटर अग्लो धवलागिरी हिमालको सफल आरोहण गरेकी हुन् । उनी धवलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलासमेत बनेकी छन् । धवलागिरीमा विदेशी महिलाले सफल आरोहण गरे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन् ।
काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै धवलागिरी हिमाल आरोहणमा लागेकी थिइन् । सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज (शुक्रबार) बिहान ५ बजे धवलागिरीको सफल आरोहण गरेका जानकारी दिए । ‘धवलागिरी हिमालमा नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरेकी छन् । यो खुशीको कुरा हो ।’
धवलागिरीमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको कुनै रेकर्ड नभएको उनले बताए । श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे / नगरेको पुष्टि हुन बाँकी छ । पत्रकार समेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको समेत सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।
पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । पथ प्रदर्शक पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत छिन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।
पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा आयोजित एक कार्यक्रममा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका आफ्नो धवलागिरी आरोहण गर्ने लक्ष्य यसपालि पूरा हुने घोषणा गरेकी थिइन् ।