गड्डा चौकी नाकाबाट भारतको रोजगारीमा रहेकाहरु दशैं मनाउन घर फर्किदै


१५ आश्विन २०७८, शुक्रबार
nepali india gaddachauki border
फाइल फोटो

डोटी, १५ असोज । भारतमा रोजगारी गरी दशैं मनाउन घर फर्किनेको संख्या बढेसँगै डोटीलगायत सुदूरपश्चिमका जिल्लामा ह्वातै चहलपहल बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका सुदूरपश्चिमबासीहरु दशैं नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको हो । घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि भारतका विभिन्न शहर जाने गरेका छन् ।

रोजगारीका लागि अधिकांश नागरिक भारत जाने भएका कारण यहाँका गाउँघर सुनसान भएका थिए । अहिले उनीहरु धमाधम गाउँ फर्किन थालेका कारण गाउँमा निकै रौनक छाएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताए ।
उनले भने, ‘कामका लागि भारत गएकाहरु घर फर्किन थालेका छन्, अहिले यहाँका गाउँघरमा शहरभन्दा बढी चहलपहल बढेको छ ।’ दशैंका लागि घर पोत्ने, कमेरो लगाउने लगायतका काम समेत शुरु भएको उनले बताए ।

डोटीको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँ खेती लगाएर परिवारसहित रोजगारीका लागि भारत जानु भएको थियो । भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैंका लागि भन्दै उहाँ फेरि परिवारसहित अहिले घर फर्किएका छन् ।
किसनसिंह मात्र होइनन् रोजगारका लागि भारतलगायत अन्य देश गएका सुदूरपश्चिमेलीहरु अहिले धमाधम घर फर्किन थालेका छन् । केआइसिंह गाउँपालिका–४ का दीपकबहादुर कामी भारतको उत्तराखण्डमा रोजगारी गरेर दशैं मनाउनका परिवारसहित घर फर्किएको बताउँछन् ।

उनले भने, ‘खास्सै पैसा कमाउन त सकिनँ, तर वर्ष दिनको पर्व परिवारसँग मनाउन घर फर्किएको छु, दशैँ तिहार सकिए पछि फेरि कामका लागि उतै फर्किन्छु ।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक दुई सयदेखि तीन सय नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् ।

घर फर्किएका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडीहरु पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट आउने नागरिकको संख्या बढेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा डीआईजी पुरुषोत्तम कँडेलले बताए ।

उनले भने, ’नेपालीलाई घर फर्किँदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ ।’ डोटीमा दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्ष समेत स्थापना गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले गाडी जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्ती समेत गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७