एमाले विधान महाधिवेशन : मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर

पानीको बोतलमा पनि ओलीको तस्विर, किन बोलाइएन अरु राजनीतिक दललाई ?


१५ आश्विन २०७८, शुक्रबार
UMl Legislative General Convention 22 copy O3TPBiqegF

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो ।

महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको देखिएन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो ।

विधान महाधिवेशनको हलको मुख्य मञ्चमा यी तस्वीर राखिएको छैन । बीचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ । हलभित्र ‘जनताको बहुदलीय जनवाद’ लेखिएको अर्को एक ब्यानरको बायाँतर्फको कुनामा भने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर देखिन्छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ । विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा हुनेछ ।

पानीको बोतलमा पनि ओलीको फोटो
एमाले विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ । हाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको १ लिटरको पानीको बोतलमा सो तस्बिर राखिएको छ ।

bottal2 f4oIHEBI0g

प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए ।
किन बोलाइएन अरु राजनीतिक दललाई ?
प्रायः सबैजसो राजनीतिक दलका महाधिवेशनको उद्घाटन सत्रमा अन्य राजनीतिक दलहरुलाई पनि निमन्त्रण गर्ने, आतिथ्यता गराउने र शुभकामना मन्तव्य राख्न दिने राजनीतिक संस्कार छ ।

दल–दलबीचको सम्बन्धका विस्तारका लागि पनि यो अभ्यास राम्रो मानिन्छ । तर, नेकपा एमालेको शुक्रबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा भने अन्य राजनीतिक दलका नेताहरु देखिएनन् ।

जबकि एमालेले यसअघिका महाधिवेशनमा अन्य राजनीतिक दलहरुलाई बोलाउने गरेको थियो । यसपटक एमालेले आफ्नो महाधिवेशनमा अन्य राजनीतिक दलहरुलाई किन बोलाएन त ? कि नेकपा माओवादी केन्द्रसँगको एकता र विभाजन तथा आफ्नै पार्टीबाट विभाजित भएर बनेको दललाई समेत बोलाउनुपर्छ भन्ने प्रतिशोध राखेर नबोलाइएको हो ? यसबारे चासो हुनु स्वभाविकै हो ।

फेरि एमालेले बिहीबारमात्रै कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक समेत बहिष्कार गरेको थियो । यता एमालेले भने पार्टीको विधान महाधिवेशन भएकाले अन्य दलहरुलाई नबोलाइएको जनाएको छ । एमाले नेता एवम् प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको आन्तरिक कार्यक्रम भएकाले कसैलाई पनि आमन्त्रण नगरिएको बताए ।

‘पार्टीको विधान महाधिवेशन आन्तरिक कार्यक्रम हो । कसैलाई पनि आमन्त्रण गरिएको थिएन,’ थापाले भने । एमालेको पहिलो विधान महाधिवेशन भए पनि महाधिवेशनमा सहभागी प्रतिनिधि भने अहिलेसम्मकै धेरै छन् । यसअघिका पार्टीका पदाधिकारीको निर्वाचन हुने नियमित महाधिवेशनमा पनि यतिका धेरै प्रतिनिधि सहभागी हुने व्यवस्था थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७