पोल भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबलका लाइन आजदेखि काटिँदै


१६ आश्विन २०७८, शनिबार
thumb

काठमाडौं, १६ असोज । आफ्ना पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) देखि काट्ने भएको छ ।

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा (शुक्रबार) समेत गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरूविरुद्ध कारबाही थाल्ने भएको हो । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार आजदेखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटिने छ ।

मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ । सेवा प्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको प्राधिकरणले जनाएको छ ।

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना जारी गर्दा सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ । उता सेवा प्रदायक कम्पनीहरूले भने यसविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा उनीहरूले भेला गरी संघर्ष समिति गठन गरेका हुन्। साथै सेवा प्रदायक कम्पनीका छाता संस्थाहरूले त्यही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएका छन् । ऊर्जामन्त्री भुसालले यस विषयमा समाधान खोजिने आश्वासन व्यवसायीलाई दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७