यातायात व्यावसायीको ‘दादागिरी’ : आफूखुशी भाडा लिन नपाएपछि ठप्प पारियो गाडी


१८ आश्विन २०७८, सोमबार

काठमाडौं, १८ असोज । भाडा बढाउनु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौंको चावहिलमा आ–आफ्नो बसमा चढेका यात्रुलाई ओरालेर सवारी चालकहरुले रित्तै गाडी गुडाएका छन् । अचानक उनीहरुले गरेको आन्दोलनको मारमा यात्रु परेका छन् ।

जोरपाटी बौद्धदेखि चाबहिलसम्म यात्रु चढाएर सार्वजनिक सवारी साधनहरूले छोटो दूरीको गाडी भाडा बढाउनुपर्ने भन्दै यात्रुलाई अलपत्र पारेका छन् । कार्यालय समयमा गरिएको आन्दोलनका कारण कामकाजी यात्रु आन्दोलनको प्रत्यक्ष मारमा परेका छन् । बिना जानकारी गाडी गाडी रोकेर अलपत्र पारी यातायात व्यावसायीले सडकमा दादागिरी देखाएको सर्वसाधरण बताउँछन् । व्यवसायी आफैले भाडा बढाउँदा ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि सडकमा गाडी तेस्र्याएर विरोध गरेका हुन् ।

व्यवसायीले पुरानो भाडादरमा २८ प्रतिशत बढाउने निर्णय गरेका छन् । जसअनुसार न्यूनतम भाडा नै १५ बाट २० रुपैयाँ पुर्‍याएका छन् । सोमबार काठमाडौंको चक्रपथका विभिन्न चोकमा व्यवसायीले चलेका गाडी रोक्दै यात्रु झारिरहेका छन् ।

यातायात व्यवसायी महासंघमा महासचिव सरोज सिटौलाले भने यसबारे संघलाई जानकारी नभएको बताए । यातायात व्यवस्था विभागले आइतबार प्रदेश र स्थानीय तहबाट भाडा समायोजन नभएसम्म छोटो दूरीका सार्वजनिक सवारी साधनको भाडा समायोजन नहुने र जथाभावि मनपरी भाडा नअसुल्न विज्ञप्ति जारी गरेको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७