एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट चार विधेयक समितिमा पठाइयो


१८ आश्विन २०७८, सोमबार
Rastriya Sabha 1

काठमाडौं, १८ असोज । राष्ट्रियसभाले चार वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरे पनि सभाले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको हो । बैठकले सरकारले पेश गरेको चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

बैठकमा महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदन २०७८ पनि टेबल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन । एमालेले कारबाही गरेका १४ जना सांसदहरूको निष्कासनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ ।

प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरूले नाराबाजीसहित वेल घेराउ गर्छन् भने राष्ट्रिय सभाको बैठकमा आफू बसेको स्थानमा उभिएर विरोध जनाउने गरेका छन् । सोमबारको बैठकमा राष्ट्रियसभा सदस्य पार्वती रावलले सरकार गैरकानूनी रूपमा चलेको, प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्न नचाहेको तथा सभामुखको व्यवहार गैरसंवैधानिक र दलीय स्वार्थ केन्द्रीत भएका कारण एमालेको विरोध जारी रहने बताए ।

सांसद डा. खिमलाल देवकोटाले एक महिनादेखि संसदमा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरूको मानव अधिकार हनन् भएको बताए । सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरू प्रयोग हुने गरेको भन्दै उनले नियमापत्ति जनाए ।

सांसद देवकोटाले अदालतमा विचाराधीन विषयमा बहस गर्न नपाउने र सभामुखको निर्णयमा प्रवेश गर्न नपाउने संवैधानिक र कानूनी व्यवस्था हुँदाहुँदै संविधान र कानूनको अपमान हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा कार्यहरू भइरहेको भन्दै त्यसको भत्सर्ना गरे । राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७