श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा


१९ आश्विन २०७८, मंगलवार
242669321 579173436832104 4274617494623871496 n 1

काठमाडौं, १८ असोज । साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो ।

पहिलो हाफमा सुमन लामा र दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोल गरे ।

खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।
५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले बायाँ विंगमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार सफल भएन । उक्त प्रहारपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।
मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । ६२ औं मिनेटमा काभिन्दुले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार गौतम श्रेष्ठले छेक्दै नेपालको लागि खतरा टारेका थिए ।

८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३(१ ले अघि बढाएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।

खेलको २६ औं मिनेटमा भारतले कप्तान सुनिल क्षेत्रीको गोलमा अग्रता लिएको थियो । सुनिलले उदान्ता सिंहको कटब्याकमा पहिलो टचमा नै ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए । ३८ औं मिनेटमा सुनिलकै प्रहार गोलरक्षक अनिसुर रहमानले विफल पारेका थिए । ४० औं मिनेटमा बंगलादेशका बिप्लो अहमदको प्रहार गोलरक्षक गुरप्रित सिंह सन्धुले विफल पारे ।

दोस्रो हाफको सुरुवाती समयमा नै बंगलादेश १० खेलाडीमा सिमित भयो । लिस्टन कोलासोलाई अन्तिम डिफेन्डरका रुपमा रहेका विश्वनाथ घोषले लडाएपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । ६१ औं मिनेटमा अनिसुरले लगातार दुई बचाउ गर्दै बंगलादेशलाई खेलमा कायम राखे । उनले मनवीर सिंहको प्रहार विफल पारेपछि उदान्तालाई पनि गोल गर्न दिएनन् ।

७४ औं मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो । कर्नरको अवस्थामा फार पोस्टमा अनमार्क रहेका येसिन अराफातले बंगलादेशका लागि हेडरमार्फत बराबरी गोल गरेका थिए । त्यसपछि भारतले लगातार आक्रमण बुनेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७