देशभर वर्षाको सम्भावना, मनसुन ढिला गरी बाहिरिने संकेत


१९ आश्विन २०७८, मंगलवार
kathamandu

काठमाडौं, १९ असोज । आज (मंगलबार) बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

नेपालबाट मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिने औसत मिति (अक्टोबर २) गुज्रेको तीन दिन भइसकेको छ । तर मनसुन हट्ने संकेत अझै नदेखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अरू हप्ता दस दिनसम्म मनसुन नेपालबाट बाहिरिने लक्षण देखिएको छैन । ‘घटनास्थपनाका दिनसम्म पनि वर्षा हुने संकेत देखिएको छ’, मौसमविद् मानन्धरले मंगलबार बिहान भनिन्, ‘फूलपातिसम्म जाने नजाने सम्भावना अलि कम छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७