चार पाटेबाघको घेराबाट जोगिएकाको अनुभव : आफू बाँचेको विश्वासै भएन


१९ आश्विन २०७८, मंगलवार
tiger
सांकेतिक तस्विर

बाँके, १९ असोज । बाघबाट जोगिएर पुनर्जन्म पायौं, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन’, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बाघको डरले घरबाट बाहिर निस्कन नसकेको बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्ती नजिकैको जङ्गलमा भैंसी, बाख्रा चराउन गएको बेला चार वटा पाटेबाघको घेरामा परेका थिए ।

‘चार वटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौं, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौं’, खड्कासँगै बाघको घेरामा परेका सेतु ओलीले भने । उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरे । बाघबाट जोगिन तीन वटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो ।

ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफूूहरूलाई झम्टिन नसकेपछि बाख्रा र भैँसीलाई लखेट्दै तितरबितर पारेका थिए । बाघले रुखवरिपरि घेरा हालेर दाह्रा र नङ्ग्रा ठीक पारेको अवस्था निकै पीडादायी रहेको हीरा खड्काले बताइन् ।

खड्काले त्यो क्षण सझिइन्, ‘भैंसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौं, एक्कासी भैंसी र बाख्रा दौडिन थाले । हेर्दा त चार वटा पाटेबाघ नजिकै आइसकेका थिए, ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौं, बाघ हामीलाई घेरा हालेर भुइँमा बसे । अनि हाम्रो त सातोपुल्तो गइहाल्यो नि ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७