इच्छाराम तामाङसहित १२ जना पक्राउ : ७० करोड बढी ठगी आरोपमा उजुरी दिने १३० पुगे


१९ आश्विन २०७८, मंगलवार
ichharaj tamang arrest UUeg3ogfUw

काठमाडौं, १९ असोज । नेकपा एमालेका पूर्व सांसद इच्छाराज तामाङ मुख्य सञ्चालक रहेको सिभिल ग्रुपले ७० करोड रुपैयाँ बढी ठगी गरेको आरोपसहित १३० जनाले प्रहरीमा उजुरी दिएका छन् ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई सोमबार दिउँसो काठमाडौंको सुुन्धाराबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ । सोमबारसम्म ४४ करोड रुपैयाँ ठगी र हिनामिना गरेको दाबी प्रहरीले गरेको थियो । तर मंगलबारसम्म सिभिल ग्रुपले ७० करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै १३० पीडितहरु सम्पर्कमा आएर उजुरी दिइसकेको सीआईबीले जानकारी दिएको छ ।

पीडितको उजुरीका आधारमा सिभिल बैंकका सञ्चालक समेत रहेका तामाङसहित १२ जना समातिएका हुन् । पक्राउ पर्नेहरुमा तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक र कर्मचारी समेत छन् । त्यस्तै सीआइबीले सिभिल होम्सका प्रबन्धक र केही कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ ।

तामाङसहित ती १२ जनाले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको ग्राहकको करोडौं निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ । सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङसहितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताउँदै सयौं पीडितहरु धमाधम सम्पर्कमा आइरहेको बताएका छन् ।

पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थानका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवान बहादुर सिंह रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७