बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार, ‘लोसपा’ पनि सरकारमा सहभागी हुने हो ?

नेकपा (एस) र जसपालाई चार–चार मन्त्रालय


१९ आश्विन २०७८, मंगलवार

काठमाडौं, १९ असोज । सत्तारुढ दलहरुले पर्सी (बिहीबार) सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने जनाएका छन् । आज (मंगलबार) सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो ।

बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

नेताहरुका अनुसार शीर्ष नेताहरु सहमति नजिक पुगेका छन् । ‘आजै साँझसम्म वा भोलि फेरि बैठक बस्छौं र पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ’ एक नेताले भने ।

महन्थ ठाकुरको पार्टी पनि सरकारमा
आज (मंगलबार) बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भन्दै दुई वटा मन्त्रालय आफैं राख्ने प्रस्ताव गरे ।

प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिने बेलामा पक्षमा मतदान गरेको लोसपालाई सरकारमा ल्याउने विषयमा पहल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । मंगलबार बसेको बैठकले मन्त्रालयको भागबण्डा करिब टुंगो लागेको नेताहरुले बताएका छन् ।
नेताहरुबीच भएको सहमतिअनुसार ६ मन्त्रालय कांग्रेसले राख्ने छ । त्यसमध्ये कांग्रेसका चार जना मन्त्री भइसकेका छन् । जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले चार चार मन्त्रालय पाउने छन् भने माओवादीले पाँच मन्त्रालय पाउने छ ।

माओवादीका यसअघि दुई जना मन्त्री बनिसकेका छन् । अब भने तीन जना मन्त्री माओवादीका तर्फबाट थप हुनेछन् । त्यस बाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउन लागिएको हो त ? सो पार्टीका नेता राजेन्द्र महतोले अहिले नै सरकारमा जाने कुनै निर्णय नभएको बताए ।

‘हामीले विश्वासको मत दिएका हौं तर सरकारमा जाने विषयमा निर्णय भएको छैन’, उनले भने, ‘अहिले सरकारमा जाने भन्ने कुरा आउँदैन । तर गठबन्धनबीच पहिले कुरा मिलोस्, मन्त्रालयको भागबण्डा मिलोस् अनि हामी छलफल गरौंला ।’ उनले गठबन्धनको भाग मिलेर प्रस्ताव आएमा आफूहरु छलफल गर्न तयार रहेको बताए । ‘सरकार मुख्य एजेण्डा होइन’, उनले भने, ‘पहिले गठबन्धनको भाग मिलेर प्रस्ताव आयो भने छलफल गरौंला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७