संघीय मन्त्रीआवास निर्माणमा ६३ प्रतिशत प्रगति, वैशाखसम्म सम्पन्न गरिने


२० आश्विन २०७८, बुधबार
sanghiya bhaban2021 10 06 06 15 40

काठमाडौं, २० असोज । ललितपुर भैंसेपाटीस्थित निर्माणाधीन संघीय मन्त्रालयका २४ मन्त्री क्वाटर (निवास) र अन्य तीन गरी कुल २७ भवनको ६३ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ । यो लक्षित प्रगतिभन्दा निकै कम हो । जब कि अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न गर्ने सहरी विकास मन्त्रालयको लक्ष्य थियो ।

कोभिडले अपेक्षित लक्ष्य पूरा गर्न नसकिएको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए । मन्त्री क्वाटरबाहेक अन्य तीन भवनमा प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको आवास बन्दै छ । आउँदो २६ कात्तिकमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रीनिवासको काम कम्तीमा ६ महिना पछाडि धकेलिएको छ । ‘यसअनुसार २६ वैशाख ०७९ भित्र मन्त्रीनिवास सम्पन्न गरिनेछ,’ सचिव सिंहले भने ।

संघीय मन्त्रीनिवास तथा भवन निर्माणमा परियोजनाका साइड इन्चार्ज तथा सिनियर डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले पनि वैशाखसम्ममा काम सम्पन्न गरिने बताए । ‘ठेकेदारले पनि त्यसवेलासम्ममा काम सक्छु भनेर प्रतिबद्धता गरिसकेको छ, वैशाखसम्ममा सकिन्छ,’ उनले भने । ०७७ मंसिरमा निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले तोकिएकै समय सीमाभित्र काम सक्ने जानकारी दिएका थिए । तर, पछिल्लोपटक वैशाखदेखि लकडाउन पुनः लाग्दा समय थप गर्नुपर्ने निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।

दोस्रो चरणमा जिम र स्विमिङपुलसहित थप निर्माणका लागि आन्तरिक मूल्यांकन हुँदै
सरकारले पहिलो चरणमा २७ भवन निर्माण गरेपछि दोस्रो चरणको निर्माण कार्य थालनी गर्नेछ । त्यसका लागि आवश्यक पूर्व तयारीको काम भइरहेको परियोजनाका साइड इन्चार्ज तथा सिनियर डिभिजनल इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले जानकारी दिए । आन्तरिक मूल्यांकन सकेपछि एक–दुई हप्ताभित्रै खरिद प्रक्रिया थालिनेछ ।

दोस्रो चरणमा मन्त्रीसहित प्रतिनिधिसभा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म सुविधा थपिनेछ । भवनको संख्या पनि बढाएर ३३ पुर्‍याइनेछ । थपिएका भवन सभाहल, जिमलगायतका कामका लागि प्रयोग हुनेछन् । आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछन् ।

१७ मंसिर ०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गरिरहेको छ ।

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्ने छन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । भवनहरू नेपाली परम्परागत शैलीमा निर्माण भइरहेका छन् ।

मन्त्रीहरूको क्वाटर यस्तो हुनेछ
भुइँतला ः लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा
पहिलो तला – मन्त्री सुत्ने मुख्य कोठा, परिवारका सदस्य सुत्ने कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल
दोस्रो तला – दुईवटा पाहुना कोठा, पूजा कोठा र लौन्ड्री

कति क्षेत्रफलमा के ?
आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्ने छ । कम्युनिटी हलका लागि ७ आना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि ३ आना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्ने छ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ । यस ठाउँमा कुल ९५ रोपनी १५ आना ३ पैसा क्षेत्रफल छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७