कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?


२० आश्विन २०७८, बुधबार
kathamandu

काठमाडौं, २० असोज । आज (बुधबार) प्रदेश–१ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
‘यतिखेर तेह्रथुम, सुंखवासभा इटहरी, उदयपुर, काभ्रे, मकवानपुर, धादिङमा वर्षा भइरहेको छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने, ‘समग्रमा प्रदेश–१ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ ।’

त्यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको उनले जानकारी दिएका छन् । ‘तर अहिले वर्षा भइरहेका ठाउँमा पनि केही घण्टापछि पानी पर्न रोकिने संकेत देखिएको छ’, मौसमविद् प्रधानाङ्गले भने ।

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले मौसमविद्का अनुसार बिहान १०-११ बजेदेखि दिनभरलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिक (धेरैजसो आकाश खुला, थोरै भागमा बादल) देखि सामान्य (धेरैजसो आकाशमा बादल, थोरै मात्र खुला) बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

मौसमविद् राजु प्रधानांगका अनुसार यस क्रममा आज दिउँसो २ बजे आसपास काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । ‘तर यो सम्भावना निकै कम देखिएको छ’, उनले भने । महाशाखाको बुलेटिनअनुसार आज राति (भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मं) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मनसुन बाहिरिने अझै छैन छाँटकाँट
मनसुन (वर्षा याम सुरु गराउने मौसमी प्रणाली) अझै केही दिन हट्ने छाँटकाँट नदेखिएको मौसमविद्ले बताएका छन् । नेपालबाट मनसुन बाहिरिने औसत मिति यही अक्टोबर २ तारिख हो । तर अझै कम्तीमा एक हप्तासम्म मनसुन बिदा हुने संकेत नदेखिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

यस हिसाबले यसपालिको दशैं हिले हुने अनुमान गरिएको छ । मनसुन हटेपछि पोस्ट मनसुन भन्ने सिजन आउँछ र त्यसको केही हप्तापछि विन्टर अर्थात् हिउँद याम सुरु हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७