११ लाख भारुसहित इलामबाट एक जना पक्राउ


२० आश्विन २०७८, बुधबार
pakrau
फाइल फोटो

इलाम, २० असोज । ११ लाख रुपैयाँ भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । सूर्योदय नगरपालिका फिक्कलका ३५ वर्षीय अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको छ । विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको ११ लाख भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अग्रवालमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । उनीसँग रहेको ११ लाख भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मे १ च ६४२४ नम्बरको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित उनी पक्राउ परेका हुन् । अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ । सटही काउन्टर समेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएका थिए ।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए । भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ ।

स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो। तर, स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७