ईपीएल : चितवन फाइनलमा, पोखरालाई अर्को मौका


२० आश्विन २०७८, बुधबार
chitwan tigers in epl cricket P8U0ONNw57

काठमाडौं, २० असोज । चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वालीफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवनले फाइनलमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनका लागि मोहमद साहजादले सर्वाधिक ४८ रनको योगदान गरे । हसिम अन्सारीले १४ रन बनाउँदा करिम जन्नतले ४ रन जोडे ।

बलिङतर्फ पोखराका लागि नन्दन यादवले एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचर्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ र सुशन भारीले १२ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका लागि सागर ढकाल र साहव आलमले समान चार–चार विकेट लिए । चार ओभर बलिङ गरेका सागरले १४ रन खर्चिए । साहवले चार ओभर बलिङ गरेर १० रन खर्चिए । चितवनका लागि कप्तान सोमपाल कामी र करिम जन्नतले समान एक–एक विकेट लिए । पराजित पोखराले इलिमिनेटरमा जित निकाल्ने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७