कृष्ण सिटौलाले छलफलका लागि बोलाए आफू निकट नेताहरुलाई


२० आश्विन २०७८, बुधबार
Krishna Prasad Sitaula 1
फाइल फोटो

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
उनले पार्टीको जारी अधिवेशनबारे छलफल गर्न ‘तेस्रो धार’ का रुपमा चिनिएको समूहमा रहेका नेताहरुको बैठक डाकेका हुन् । काठमाडौंको जमलमा दिउँसो १ बजे बस्ने बैठकमा आसन्न महाधिवेशन, महाधिवेशनअघि अहिलेसम्म सम्पन्न अधिवेशन र मन्त्रिपरिषद्मा पठाउने नेताबारे छलफल हुने स्रोतले जानकारी दिएको छ ।

नेता सिटौलाका स्वकीय सचिव किरण सिटौलाले अहिलेसम्म भएका अधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा मन्त्रिपरिषद् केन्द्रित कुराकानी हुन सक्ने पनि बताएका छन् । ‘त्यसबारे छलफलमा कुरा आउन सक्ला । तर, उमाकान्त चौधरी मन्त्रीका लागि स्वाभाविक नाम हो’, उनले भने, ’उहाँलाई नै पठाउनेमा हामी माझ विमति छैन ।’

बैठकमा सिटौलाले नेताहरु भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं, प्रदीप पौडेल र गगन थापालाई बोलाएका छन् । यद्यपि, महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता थापाले सिटौला समूह छाडेको संकेत गरिसकेका छन् ।

उनले काठमाडौं महानगरपालिका अधिवेशनमा नेता प्रधानको विपक्षमा उभिएर सिटौला समूह छाडेको संकेत गरेको कांग्रेसवृत्तमा चर्चा छ । सिटौला समूहमा रहेका एक नेताले बैठकमा थापालाई पनि बोलाइएको पुष्टि गर्दै भने, ‘गगनलाई पनि बोलाइएको छ । उनी आउने नआउने थाहा भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७