अख्तियारले प्रदेश सरकारलाई बद्नाम बनाउन खोज्यो : मुख्यमन्त्री राउत


२० आश्विन २०७८, बुधबार
lalbabu raut

जनकपुरधाम, २० असोज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको आरोप लगाएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेको बताए ।

प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले प्रदेश–२ सरकारलाई विभिन्न ढङ्गले हमला गर्ने प्रयास भइरहेको बताए । हालै मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापालाई पनि उनले आपत्तिजनक बताए ।

आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । ‘यो त संस्थामाथिको हमला हो,’ उनले भने, ‘प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’ उनले मुख्यमन्त्री कार्यालयबाट साइकल वितरणमा अनियमितता भएको भन्ने हल्लामा सत्यता नरहेको पनि बताए । उनले भने, ‘त्यो बजेटको व्यवस्थापन कसले गरेको ? तपाईहरु (सांसदहरु) ले बजेट पास गरेको होइन र ? मुख्यमन्त्रीले बजेट कार्यान्वयन गर्ने होइन नि, मुख्यमन्त्रीले बजेट खर्च गर्ने होइन ।’

उनले प्रदेशसभा सदस्यहरु नै आफ्नो लागि न्यायाधीश हुने बताए । संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने शुरु देखिको खेल अन्तर्गत प्रदेश–२ लाई नै बारम्बार निशाना बनाउँदै आएको उनको भनाइ थियो । आफ्नो नेतृत्वको सरकारले संघीयतालाई संस्थागत गर्न सुरुदेखि नै दह्रो खुट्टा टेक्ने प्रयास गरेको उनले बताए ।

सात प्रदेशमध्ये कुनै पनि प्रदेशले आँट नगर्दा प्रदेश–२ सरकारले प्रदेश प्रहरी ऐन ल्याएको उनले बताए । प्रदेश निजामती सेवा ऐन लगायत संघीयता अन्तर्गतका ऐन कानुन निर्माणमा सरकारले उल्लेखनीय काम गरेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७