भेनमा भेटियो ठूलो संख्यामा मानव अङ्ग, दुई जना पक्राउ


२० आश्विन २०७८, बुधबार
khapar

मोरङ, २० असोज । मोरङको विराटनगर –१५ स्थित रानीबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर, १० वटा हातखुट्टाको हड्डी र भ्यान बरामद गरेको छ । मंगलबार रानीस्थित ढाट नजिकै को २ च ९६४८ नम्बरको भ्यान सशस्त्र प्रहरीको टोलीले बेवारिस अवस्थामा देखेपछि शंका लागेर चेकजाँच गर्दा मानव खप्पर र हड्डी फेलापरेको बताइएको छ ।

सुरुमा वन्यजन्तुको हड्डी भन्ने लागे पनि पछि मानव खप्पर र हातखुट्टाको हड्डी पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जीसीले जानकारी दिए । प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौं लैजाने तयारी रहेको बयान दिएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंंसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।

मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गर्छन् । तर ठूलो परिणाम भेटिएकाले प्रहरीले चीततर्फ तस्करी गर्न खोजेको बताएको छ । प्रहरी उपरीक्षक जिसीका अनुसार विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको थियो । जिसीले विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने बताए ।

मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले बताएको छ । यसरी संंकलन गरिएका सामग्री किन र केका लागि तस्करी हुन्छ भन्ने खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७