नम्बर प्लेट विनै चलाएका २१९ मोटरसाइकल नियन्त्रण


२० आश्विन २०७८, बुधबार
bike

काठमाडौं, २० असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको ‘नम्बर प्लेटबिरुद्ध’ को कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र नम्बर प्लेट अस्पष्ट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियानअन्तर्गत ती मोटरसाइकलहरु नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

विशेष गरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलहरूले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समस्या हुने गरेको एसएसपी भट्टराईले बताए ।

त्यस्ता मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने, दुर्घटना गरे भाग्ने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको भनाइ छ ।

तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सयदेखि १५ सय रूपैंयाँसम्म जरिवाना गर्ने गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७