जसपामा मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई


२० आश्विन २०७८, बुधबार
Upendra yadav babauram bhattrai and ashok rai

काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति वैठक सकिएको छ । आज (बुधबार) पार्टी कार्यालय बालकुमारीमा बसेको वैठकमा कार्यकारिणी सदस्यहरुले मन्त्रीको टुङ्गो लगाउने जिम्मा शीर्ष तीन नेतालाई दिएका छन् ।

कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पाएका छन् ।

आजको बैठकमा सदस्यहरूले मन्त्री बन्नका लागि आवश्यक मापदण्डको बारेमा नेतृत्वलाई सुझाव दिएका थिए । नेता श्रेष्ठका अनुसार मन्त्री पठाउँदा समावेशीतामा ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराइएको छ । ‘समावेशी बनाउन लैंगिक, उमेर, समुदाय आदि विषयहरू ध्यान दिन हामीले नेतृत्वलाई भनेका छौं’, उनले भने, ‘अब निर्णय गर्ने जिम्मा तीन नेताहरूको हो ।’

जसपाले चार मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७