प्रदेश–१ का मुख्यमन्त्री आचार्यको प्रस्ताव : दशैंपछि संयुक्त सरकार बनाऔं

‘जुवारी खेल्नु छैन, सोचेर मात्र विश्वासको मत लिन्छु’


२० आश्विन २०७८, बुधबार
bhim

मोरङ, २० असोज । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले अहिले राजनीति विभिन्न उतार–चढावबीच अघि बढेको भन्दै आफू संविधानानुसार अगाडि बढ्ने र विश्वासको मत लिने बताएका छन् ।

सरकार अल्पमतमा परे सरकार नटिक्ने भन्दै उनले सबै दल अल्पमतमा रहेको तर्क गरे । उनले भने, ‘सबै अल्पमतमा छौं । मैले कुनै निष्कर्ष निकालेको छैन । सबैको सहमतिमा सरकार बनाएर जान पनि सकिन्छ ।’

उनले दशैंपछि ‘ठण्डा दिमागले’ सरकारको विषयमा सोचेर निर्णय लिने आग्रह गरे । बुधबार १ नम्बर प्रदेशसभाको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै आचार्यले केन्द्रमा नेकपा (एमाले) विभाजन भए पनि प्रदेशसभाले थाहा नपाएको जिकिर गरे ।
‘जुवारी खेल्नु छैन । सिंगो जीवन राजनीतिको लागि बिताएको छु । लडेरै आएको हुँ । आफैले बनाएको संविधान विपरीत जान्नँ । सरकारले निष्कर्ष निकालेको छैन’, उनले भने ।

विभिन्न कारणले जटिल बनेको राजनीतिक परिवेशबीच प्रदेशसभा भवन बनेको उनले बताए । ‘अस्थायी भने पनि भवन बन्नु ठूलो विषय हो । प्रदेश संरचनाको लागि जग्गा खोजी गर्न समिति बनाएर काम गर्दैछौं’, उनले भने । राजधानी संरचना निर्माण गर्न जे निर्णय भएको छ, सोहीअनुसार हुने पनि उनले बताए ।

विपक्षी दलले भने नयाँ सरकार गठन गर्ने सवालमा मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यसमक्ष माग गरे । उनीहरूले दशैंअगावै विश्वासको मत लिन मुख्यमन्त्रीलाई आग्रह गरे । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नयाँ सरकार गठन प्रक्रियाको लागि मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले भने, ‘विधि र पद्धतिअनुसार सरकार गठन हुनुपर्ने र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।’

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले संविधान र कानुनभन्दा नैतिकता पनि अगाडि हुने भन्दै ‘मुख्यमन्त्री आचार्यले मार्गप्रशस्त गर्नुहोला’ भन्ने अपेक्षा रहेको बताए । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले ठाउँ र बेला कस्तो छ भन्ने कुरा प्रमुख भएको बताउँदै ठूलो परिवर्तनपछि मुलुक संघीय प्रणालीमा गएको उल्लेख गरे । उनले कानुन मिचेर सरकार नचल्ने भन्दै असोज २४ गतेभित्र मार्गप्रशस्त गर्न आग्रह गरे । उपसभामुख सरस्वती पोखरेलले नयाँ प्रदेशसभा भवनमा अब संसद् अधिवेशन सञ्चालन गर्न सहज हुने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७