कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो


२१ आश्विन २०७८, बिहीबार
koshi2021 10 07 06 05 13

काठमाडौं, २१ असोज । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवादेखि संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकले धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम गरी पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरे ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्राप्त भएको छ ।

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै १ नम्बर प्रदेशका जिल्लाहरूमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्नेछ ।

कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरे ।

करिडोरको पहिलो प्याकेजको इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसनले २५ फेब्रुअरी २०१६ मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयनमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत तीन करोड ७३ लाख डलर (करिब चार अर्ब) छ ।

दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङटारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग ११ जुलाई २०१८ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत दुई करोड ५३ लाख डलर (करिब दुई अर्ब ९१ करोड) छ ।

आयोजनाको प्रथम चरणको कार्यका लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात् दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सबस्टेसनहरूको क्षमता विस्तारका लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणलाई लगानी जुटाइ दिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकेको छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । एक सय ३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिनेछ । दुई र तीनको क्रमशः ८०–७० प्रतिशत निर्माण सकिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नम्बर १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र काबेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको उनले जानकारी दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पुर्‍याउन पूर्वाधार तयार भएको बताए ।

नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका बमोजिम नेपालले भारतबाट विद्युत् खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए । धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोशी करिडोरको निर्माणबाट पुष्टि भएको बताए ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पिपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/१३२/३३ केभीका तीन वटा सबस्टेसन र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७