सीता भण्डारी मृत्यु प्रकरण : तीन जना पुर्पक्षका लागि कारागार चलान


२१ आश्विन २०७८, बिहीबार
sita bhandari Lp1nAtX0Vn

रुपन्देही, २१ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहनको मुद्दामा तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत रुपन्देहीमा मंगलबार र बुधबार भएको थुनछेकको बहसपछि थुनामा राख्न आदेश भएकाले कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

आत्महत्या दुरुत्साहनको मुद्दामा मृतकका श्रीमान टीका पौडेल, आमाजू बिष्णु पौडेल, जेठाजु हरिप्रसाद पौडेललाई प्रहरीले हिरासतमा राखेकोमा हिजो (बुधबार) कारागार चलान भएका हुन् । एक महिना महिना अघि भदौ २० गते विहान साढे ४ बजे सीता भण्डारी आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको माइती पक्षले हत्या भएको दाबी गर्दै आएको थियो । पोष्टमार्टम रिपोर्टमा झुण्डिएरै मृत्यु भएको उल्लेख छ ।

माइती पक्षको दबाब पछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको थियो । सीताको मृत्युको सत्य तथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै आफन्तले सडकमा विरोध जनाउँदै आएका छन् । अहिलेसम्म पनि माइती पक्षले सव उठाउन दिएका छैनन् ।

केही दिनअघि मृतक भण्डारीको सुसाइट नोट फेला परेको प्रहरीले बताएको थियो । मृतक सीता र उनका श्रीमान टीका पौडेलको मोबाइल प्राविधिक परीक्षणको लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएको र ल्याबको प्रतिवेदन अनुसार मृतक सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा सुसाइड नोट लेखेको पाइएको प्रहरीले बताएको छ ।

सो नोटमा ‘…मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७