दशैंका सामान उत्तरी नाकामै रोकिए, सरकारले पर्याप्त पहल नगर्दा मर्कामा व्यापारी


२१ आश्विन २०७८, बिहीबार
kerung

काठमाडौं, २१ असोज । जुत्ता व्यवसायी देवेन्द्र कुमारले दशैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन् । जुत्ता नआएपछि देवेन्द्र दशैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दशैंमा जुत्ता चप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमा नाकापारि नै रोकिए ।’

दशैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् । कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन् ।

कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ । त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भइरहेको छ ।

नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए । ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले बुधबार भने, ‘दशैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन् ।

अघिल्ला वर्षको तुलनामा चिनियाँ पक्षले निकै कम गाडी छाडेकाले समस्या भएको रसुवाका भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘कोभिड सुरु हुनुअघि दैनिक अढाई सय गाडी यो नाका हुँदै आउँथे,’ रेग्मीले भने, ‘अहिले दैनिक सातदेखि नौ गाडी सामान आइरहेको छ ।’ दशैंका बेला सामान ल्याउन दबाब बढेको रेग्मी बताउँछन् । ‘चाडपर्वमा धेरै सामान आउने भएकाले भने जति पास भएको छैन,’ उनले भने, ‘कोटा तोकेर आएकाले कठिनाइ भएको हो ।’

दशैंका लागि तीन÷चार महिनाअघि अर्डर गरेका सामान नआएपछि व्यापारी चिन्तित छन् । दशैंमा बिक्री गर्ने जुत्ता चप्पल, कपडा, विद्युतीय सामग्रीलगायत करोडौंका सामग्री रोकिएको व्यापारीले बताएका छन् ।

चिनियाँ पक्षले स्वास्थ्य सामग्री, हाइड्रोका सामान, अदुवा, लसुन, स्याउलगायत कृषिजन्य वस्तुलाई प्राथमिकता दिएर भन्सार पास दिने गरेको छ । कृषिजन्य वस्तु कुहिने, नष्ट हुने भएकाले स्याउ, अदुवालाई प्राथमिकता दिँदा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थले कम प्राथमिकता पाएका छन् । कहिलेकाहीं नौ गाडीमध्ये पाँच÷छ गाडी स्याउलगायत कृषिसँग सम्बन्धित सामान मात्र आउने गरेका छन् ।

धेरै सामान सीमावर्ती चिनियाँ भूभागमा रोकिएका छन् । चिनियाँ पक्षले कतिपय गाडी केरुङभन्दा करिब ८० किलोमिटर उता सिगाक्षे र तातोपानीभन्दा उता मेलमा रोकेको छ । नेपालमा चीनबाट वार्षिक खर्बौं रुपैयाँ बराबरको सामान आयात हुन्छ । भन्सार विभागको आर्थिक वर्ष ०७७÷७८ को तथ्यांक अनुसार दुई खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँको सामान चीनबाट आयात भएको छ । चालु आवको साउन र भदौमा मात्र ४२ अर्ब ८४ करोड मूल्यका चिनियाँ सामान आयात भएको छ ।

व्यापारीले भारत हुँदै पनि सामान ल्याउने गरेका छन् । भारत हुँदै ल्याउँदा पानी जहाजको भाडा केही महँगिएका कारण मूल्य केही बढी पर्न जान्छ । त्यसैले केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्नुपरेको व्यापारी बताउँछन् । उत्तरी नाकाबाट सामान ल्याउँदा व्यावहारिक झन्झट बढी बेहोर्नुपरेको गुनासो व्यापारीको छ ।

केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको मितेरी पुलमा झार्ने गरेको छ । त्यहाँबाट नेपाली कामदारले लोड गरी यता ल्याउँछन् । कोभिडका कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट भएको छ ।

केरुङको तुलनामा तातोपानी भन्सार हुँदै आउने सामान आयातमा केही सहज भए पनि करिब डेढ सय बढी गाडी रोकिएको व्यापारी बताउँछन् । तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७