दसैं मनाउन घर फर्किए परदेशी


२१ आश्विन २०७८, बिहीबार
salman border 20211007003826

नेपालगञ्ज, २१ असोज । दैलेख ठाँटीकाँधका तपेन्द्र बडुवाल दसैं मनाउन भारतबाट घर फर्केका छन् । उनी भारतको हिमाञ्चल प्रदेशको मनिकरनमा स्याउ टिप्न गएका थिए ।

नेपालगन्जको सीमा नाका जमुनाहामा एन्टिजिनबाट कोरोना परीक्षणका लागि लाइनमा भेटिएका बडुवालले भने, ‘५० दिनमा २५ हजार भारु (नेपाली ४० हजार) कमाइ भयो । दसैं मनाउन घर फर्केको छु । दसैं–तिहार मानेर फेरि भारत जान्छु ।’ स्याउ टिपेबापत उनलाई दैनिक पाँच सय भारु मिल्थ्यो । खान बस्न साहूले नै व्यवस्था गरेको थियो ।

भारतको गुजरातस्थित होटलमा काम गरेर घर फर्कदै गरेका दैलेखको महाबु गाउँपालिका रानीवनका रणबहादुर सुनार पनि ३ दिनको यात्रापछि नेपालगन्ज पुगे । पाँचौं दिन उनी घर पुग्नेछन् । भारतमा धेरै कोरोना संक्रमण भएको राज्यमा रहँदाको उनले अनुभव सुनाए, ‘कोरोनाबाट मृत्यु भएकाहरूको लास पोल्ने ठाउँ पनि थिएन । भर्खरै गएको थिए । कोरोनाले होटल बन्द भइहाल्यो । घर फर्कने पैसा पनि भएन । कोरोना निकै घटेपछि घर फर्कन पाइयो ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम विभिन्न जिल्लामा घर भएका कालीपारे (भारतमा कमाउन गएका) परदेशीहरू फर्कनेहरूको सीमा नाका जमुनाहामा घुइँचो लाग्न थालेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई मीनबहादुर विष्टका अनुसार सोमबार १ हजार ७ सय जना नेपाली घर फर्केका छन् । यो एन्टिजिनबाट कोरोना परीक्षण गराउनेको मात्र रेकर्ड हो । इन्चार्ज विष्टले प्रष्ट पारे, ‘सोह्र श्राद्ध सकिएपछि दसैंको नवमीसम्म अहिले आएको भन्दा झन्डै ५ गुणा बढी नेपाली स्वदेश फर्केछन् ।’

जोगवनी नाकाबाट भित्रिनेको लर्काे
दसैं लगायतका चाडपर्व नजिकिँदै जाँदा विराटनगरको जोगवनी नाकाबाट नेपाल प्रवेश गर्नेहरूको लर्को लागेको छ । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेर गन्तव्यतर्फ लाग्नेको संख्या दैनिक एक हजारभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनका अनुसार पछिल्लो एक साताको अवधिमा यो नाका हुँदै आठ हजारभन्दा बढी सर्वसाधारण नेपाल प्रवेश गरेका छन् ।

काम, अध्ययन एवं रोजगारीका सिलसिलामा भारत पुगेकाहरू चाडपर्व नजिकिएपछि धमाधम घर फर्किरहेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको यो नाका एक साताअघि मात्रै खुला गरिएको हो । नाका खुलेपछि सवारी साधन र मानिसले सहज रूपमा आवतजावत गर्न पाइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । चाडपर्वका बेला सीमा नाकामा हुनसक्ने भीडभाडलाई लक्षित गरेर उच्च सतर्कता अपनाइएको उनको भनाइ छ ।

नेपालबाट दैनिक उपभोग्य वस्तु खरिदका लागि भारतको जोगवनी बजार जानेहरूको पनि ठूलो भीड लागिरहेको छ। चाडपर्व नजिकिएसँगै सीमामा आवतजावत बाक्लो हुँदा सुरक्षा सक्रियता बढाइएको दाहालले बताए । चाडपर्वका बेला हुनसक्ने अवैध एवं अवाञ्छित गतिविधि रोक्न भारतसँग सीमा जोडिएका स्थानलाई प्राथकितामा राखेर सतर्कता अपनाइएको जानकारी उनले दिए ।

उनका अनुसार नाकाबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहजीकरण र मानवीय चहलपहललाई ख्याल गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सीमामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रजिअ दाहालले कोरोना संक्रमणबाट बच्न सर्वसाधारणलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेर सीमा क्षेत्रमा जनेचतनामूलक सन्देशहरू पनि प्रवाह गर्ने काम भइरहेको छ ।

‘चाडपर्व नजिकिएकाले नेपालबाट भारतीय बजारमा उपभोग्य वस्तु खरिद गर्न जानेको संख्या अत्याधिक बढेको छ । कामका सिलसिलामा भारत पुगेकाहरू पनि चाडपर्व मनाउनलाई घर फर्कन थालेका छन्,’ उनले भने, ‘एक दिनमा १५ हजारभन्दा बढीको आवतजावत हुने गरेको छ । बढ्दो चहलपहलसँगै कोरोना संक्रमणलाई ख्याल गर्नुपर्छ भनेर प्रशासन चनाखो भएर लागेको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७