मन्त्री टुङ्गो लगाउन विहानै जुट्यो जसपा, को–को छन् सम्भावित ?


२१ आश्विन २०७८, बिहीबार
Upendra yadav babauram bhattrai and ashok rai

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी अगाडि बढाएसँगै सत्ता साझेदार दलहरु आफ्नो भागमा परेका मन्त्रीको नाम टुङ्गो लगाउन जुटेका छन् ।

आफ्नो तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीको नाम टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) आज (बिहीबार) विहानैदेखि छलफलमा जुटेको छ । अहिले जसपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

सरकारमा क–कसलाई पठाउने भनेर निश्चित गर्न बिहान ८ बजेदेखि सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको हो । अध्यक्ष यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र अशोक राई मन्त्रीको नाम टुंगो लगाउन बैठकमा बसेको जसपाका एक सांसदले बताए ।

चार जनामध्ये दुई जनाको नाम करिब करिब टुङ्गो लागेको ती नेताले दावी गरेका छन् । महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएको बताइएको छ । इस्तियाक राई र अम्रिता अग्रहरिमध्ये एक र अन्य एक जनाको नाम टुङ्गो लगाउन बाँकी छ ।

ती सांसदले भने, ‘अहिले अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको छ । त्यसबाट टुङ्गो लाग्छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय परेका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा पठाउनका लागि हिजो (बुधबार) नै तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री टुङ्गो लगाउन छलफल अगाडि बढाइसकेको छ । यस्तै कांग्रेसले पनि मन्त्रीको टुङ्गो लगाउन हिजो शीर्ष नेताको वैठक बोलाए पनि सहमति जुटिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७