‘हनि ट्रयाप’ मा पारेर लुटेको आरोपमा दुई युवती पक्राउ


२१ आश्विन २०७८, बिहीबार
Untitled 3 BrU1ph2GBW

काठमाडौं, २१ असोज । पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुई युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा पारेर दोलखा घर भएका एक पुरुषको साढे ३ तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

तीन महिनाअघि बौद्ध बस्ने ती पुरुष र काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङबीच सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । युनिसा उनकी साथी हुन् । केही दिनअघि उनीहरुले ती पुरुषलाई फोन गरेर उनलाई एयरपोर्टमा बोलाए । ट्याक्सी चढाएर चापागाउँ बसपार्क सँगै रहेको होटलमा लगेका थिए ।

युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन् । युनिसा भागेपछि सुनिता पनि उनलाई छाडेर हिंडिन् । फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा फसाउँछौं’ भनेर उनीहरुले ब्ल्याकमेल गरेका थिए ।

हनि ट्रयापमा पारेर लुटेको सिक्री भोलिपल्ट एक लाख ६३ हजारमा उनीहरुले टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । हनि ट्रयापरहरुलाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर जावलाखेलमा बुझाइएको एसएसपी खापुङले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७