मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताको वैठक


२१ आश्विन २०७८, बिहीबार
satta

काठमाडौं, २१ असोज । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४–४ मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुनः गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले पनि विहीबार मध्यान्ह बसेको स्थायी कमिटीले नाम टुंगो लगाएको छ । उता जनता समाजवादी पार्टी (जसपा) ले मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ । अहिलेको बैठकमा केही मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ । गठबन्धनबीचमा कुन दलले कुन कुन मन्त्रालय लिने समझदारी भए पनि केही मन्त्रालयका विषयमा एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७