कोरोनाबाट भेरी अस्पतालमा चार जनाको मृत्यु


२२ आश्विन २०७८, शुक्रबार
veri

बाँके, २२ असोज । कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा थप चार जनाको ज्यान गएको छ । अस्पतालका अनुसार बर्दियाका ३ र दाङका एक जनाको मृत्यु भएको हो ।

बर्दिया, राजापुर नगरपालिका–८ का ३५ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दियामा यही असोज ४ गते उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी भोलिपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

यस्तै राजापुर नगरपालिका–४ बर्दियाकी ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दियामा यही असोज ८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि असोज १० गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बेलुकी ७ः३० बजे मृत्यु भएको हो ।

यसैगरी बारबर्दिया नगरपालिका–११ बर्दियाकी ४२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यही असोज १९ गते उनलाई भेरी अस्पतालमा कोरोना पुष्टि भएपछि सोही दिन भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो । अस्पतालका अनुसार उनको बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको हो ।

त्यस्तै दंगिशरण गाउँपालिका–१ दाङकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही असोज १३ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिइन् ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँकेका ३३५ र बाहिरी जिल्लाबाट आएका ४२३ जनाको मृत्यु भइसकेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७