गाड्दै गरेको बालिकाको शव नियन्त्रण, बलात्कारपछि हत्याको आशंका

हतार–हतार शव गाड्ने कार्यमा संलग्न नौं जना पक्राउ


२२ आश्विन २०७८, शुक्रबार
dafan

वीरगञ्ज, २२ असोज । वीरगन्जको मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्दै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १४ वर्षीया बालिका जयुनत खातुनको शव प्रहरीले कब्रस्तानबाटै नियन्त्रणमा लिएको हो ।

शंकास्पद मृत्यु भएकी ती किशोरीको शव अभिभावक र आफन्तले प्रहरीलाइ थाहै नदिई कब्रस्तानमा बिहीबार साँझ लगेर दफनाउन (गाड्न) लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । शव अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको शव गृहमा राखिएको छ ।

किशोरीको मृत्यु शंकास्पद देखिएकाले शवको पोष्टमार्टम वीरगञ्जमै गर्ने कि काठमाडौं पठाउने विषयमा छलफल भइरहेको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । मृत्युको कारण लुकाउन हतार–हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्नसहित नौं जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाका नाती, मृतक किशोरी आमा, बुबा समेत गरी नौं जना रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
खास घटना के हो ?
मृतक बालिका जयुनत खातुन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीमका कान्छा छोरा जाकीर मिया धुनियाकी आफ्नै साली हुन् । भारत घर भएकी उनी विगत केहि समयदेखि आफ्ना दिदी भिनाजुसँग बस्दै आएकी थिइन् ।

प्रहरी उपरीक्षक पाण्डेका अनुसार बिहीबार अपरान्ह वीरगञ्जको मुर्लीस्थित कब्रस्तानमा ४ /५ जना व्यक्तिले एक किशोरीको शव हतार–हतारमा गाड्न लागेको सूचना प्रहरीलाई दिएका थिए । उक्त सूचना पाएर इलाका प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर कब्रस्तानमा पुगेर खातुनको शव नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

त्यसपछि वीरगञ्जस्थित गाँउपालिका अध्यक्ष मियाको घरमा पुगेर प्रहरीले खानतलासी गर्दा कोही पनि पुरुष नभेटिएको पाण्डेले बताए । प्रहरी उपरीक्षक पाण्डेले भने, ‘मृतक किशोरीको घाँटीमा नील डाम पनि देखिएको छ, तर प्रहरीलाई प्राप्त सूचनामा भने जालीमका कान्छो छोराले जबरजस्ती करणी गरेको र त्यसक्रममा अत्यधिक रक्तश्राव भएर उपचारका क्रममा खातुनको मृत्यु भएको भन्ने छ ।’

किशोरीको मृत्युको कारण आत्महत्या हो वा जबरजस्ती करणीले हो भन्ने विषय यकिन भई नसकेको पाण्डेले बताए । पाण्डेले भने, ‘मृत्युको कारण शवको पोष्टमार्टम पछि मात्रै यकिन हुन्छ ।’

असोज १० गते ती किशोरीको वीरगञ्जस्थित प्रभु हस्पिटलमा लगेर उपचार गराएको अस्पतालको पूर्जी अभिभावकले देखाएकाले यस बारेमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए । प्रहरी नियन्त्रणमा रहेका मृतक किशोरीका अभिभावकले भने किशोरीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा सेवन गरेको औषधिका कारण अत्याधिक रक्तस्राव भएको तर्क गरेका छन् ।

प्रहरी उपरीक्षक पाण्डेले भने, ‘घटना निकै शंकास्पद देखिएको छ, मृतक किशोरीकै बुबा आमाले पनि केहि बोल्न मानिरहेका छैनन्, आरोपितहरु फरार छन्, प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ यसबारे प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष जालीमलाई उनको मोबाइलमा पटक–पटक फोन गर्दा पनि उनी सम्पर्क आउन चाहेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७