मन्त्रीको अघिपछि लागेर मीठा कुरा होइन काम गर्नु : पर्यटमन्त्री आले


२२ आश्विन २०७८, शुक्रबार
Prem Ale

काठमाडौं, २२ असोज : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कर्मचारीहरुलाई मन्त्रीको अघिपछि लागेर मीठा कुरा होइन काम गर्न निर्देशन दिएका छन् । कर्मचारीलाई आफूबाट कुनै पनि प्रकारको हस्तक्षेप भन्दै अगाडि मीठा कुरा गरेर मन्त्रीलाई रिझाउने प्रयास नगर्न निर्देशन दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका मन्त्री आलेले भने, ‘म बाट कुनै पनि प्रकारको हस्तक्षेप हुन्न । मेरो अगाडि मीठा कुरा गरेर मन्त्रीलाई रिझाउने प्रयास नगर्नुहोला । एउटा कुरा अनुरोध गरिहालौं । मसँगै हाँसेकै भरमा राम्रो ठानेको नठान्नुहोला । जसले राम्रो काम गरेर राम्रो नतिजा दिन्छ । त्यसमा आभारी हुनेछु ।’

उनले निगमका निजी क्षेत्रका विमान भरीभराउ हुने तर, निगमको किन नहुने भनेर प्रश्न गरे । ‘यो तालले पर्यटन मन्त्रालय चलाउन सकिँदैन । वाइडबडीको मात्रै २७र२८ अर्ब ऋण छ । तर, हाम्रा जहाज घाममा सुतिरहेका छन् । जहाज घाममा सुकाएर पैसा त आउँदैन, त्यसलाई युज गर्नु पर्‍यो । उडाउनु पर्‍यो,’ उनले भने ।

नेपाल वायु सेवा निगमलाई अचेल यात्रुहरुले निगमलाई विश्वास गर्न छोडेको बताए । भने, ‘जनताले आज नेपाल एयरलायन्सलाई किन विश्वास गरिराखेको छैन । निजीलाई टाइममा उड्छ भनेर विश्वास गर्ने हाम्रो जहाजलाई वास्तै नगर्ने । अब त्यो हुनु भएन ।’

पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए । मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उनको भनाइ छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे। पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७